५ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय र संस्कृत विश्वविद्यालयमा ८
वर्षदेखि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन नसकेका बेला
मध्यपश्चिम विश्वविद्यालयमा पहिलो पटक युनियनको चुनाव हुने भएको छ ।
विप्लबका विद्यार्थीको अबरोध
करीव २ हजार ५ सय विद्यार्थी अध्ययनरत मध्यपश्चिम विश्वविद्यालय
क्याम्पसमा भदौ ८ गते स्ववियु निर्वाचन हुदैछ । तर नेत्रविक्रम चन्द विप्लब
निकट अखिल क्रान्तिकारीको अवरोधका कारण उम्मेदवारी मनोनयन बिथोलिएको छ ।
क्रान्तिकारीले बिभिन्न माग राखेर चुनाव बिथोल्न तालाबन्दी गर्नुअघिनै
एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु र नेपाल मजदूर किसान पार्टी
निकट क्रान्तिकारी विद्यार्थी संघले भने मनोनयन दर्ता गराइसकेका थिए ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा.उपेन्द्र कोइरालाले सबै
विद्यार्थी संगठनलाई समेटेर निर्वाचन गराउने प्रयास सकारात्मक दिशामा अघि
बढेको बताए । उनले भने- ‘हामी सबै संगठनलाई चुनावी प्रक्रियामा ल्याउन
वार्ता गरिरहेका छौं ।’
उनले नेपालमै पहिलो पटक सबैको सहमतिमा नयाँ निर्वाचन प्रणालीबाट चुनाव
गराउन लागिएको बताए । कुनै पनि संगठन चुनावी प्रक्रियाबाट बाहिर नरहुन्
भनेर वार्ता थालिएको कोइरालाले बताए ।
नयाँ निर्वाचन प्रणाली
मध्यपश्चिम विश्वविद्यालयको स्ववियु चुनाव नयाँ निर्वाचन प्रणालीबाट हुन
लागेको छ । जस अनुसार १७ सदस्यीय स्ववियुमा अध्यक्ष, सचिव र कोषाध्यक्ष
सहित १० जना प्रत्यक्ष निर्वाचित हुनेछन् ।
बाँकी सात सदस्य समानुपातिक प्रणालीबाट छानिने छन् । विद्यार्थी
संगठनहरुले प्राप्त गरेको मतका आधारमा सात सदस्य बाँड्ने र १७ सदस्यीय
स्ववियुले उपसभापति र सहसचिव चयन गर्ने प्रणाली अपनाउन लागिएको छ ।
यसअघि स्वतन्त्र विद्यार्थी युनियनमा प्रत्यक्ष मात्र निर्वाचन हुने
गरेको थियो । सर्बोच्च अदालतको आदेश अनुसार स्ववियु निर्वाचनमा उमेर हद पनि
मध्यपश्चिम विश्वविद्यालयबाटै लागु हुन लागेको अनेरास्ववियुका महासचिव ऐन
महरले जानकारी दिए ।
अदालतले स्ववियुमा चुनाव लड्ने विद्यार्थीको उमेर हद २८ वर्ष तोकेको
थियो । त्यसयता स्ववियु चुनाव हुन नसकेकोमा मध्यपश्चिम विश्वविद्यालयबाटै
उमेर हद लागु गरिएको उपकुलपति कोइरालाले बताए ।
विद्यार्थी नेताहरु सुर्खेतमा
९ वर्षदेखि स्ववियु चुनावमा सहभागी हुन नपाएका विद्यार्थी संगठनहरु
मध्यपश्चिम विश्वविद्यालयमा आफ्नो जित हात पार्न अहिले सुर्खेतमा केन्दि्रत
भएका छन् । यो चुनावलाई ठूला विद्यार्थी संगठनले प्रतिष्ठाको विषय बनाएका
छन् ।
अनेरास्ववियु अध्यक्ष नविना लामा तीन दिन अड्डा जमाएर काठमाडौं फर्किए
लगत्तै चुनाव जिताएरमात्र फर्किने गरी उपाध्यक्ष सुनिता बराल, महासचिव ऐन
महर, सचिव आरती लामा र कोषाध्यक्ष झपिन्द्र खत्री सुर्खेत पुगेका छन् ।
उनीहरुले प्रभात पोखरेलको अध्यक्षमा स्ववियुका उम्मेदवारको नाम समेत
दर्ता गराएका छन् । आफूहरु चुनाव प्रचार प्रसारमा रहेको र विप्लब निकट
क्रान्तिकारीसँग पनि वार्ता गरेर चुनावको वातावरण बनाउन लागेको महासचिव
महरले बताए ।
हालैमात्र महाधिवेशन सम्पन्न गरेको नेविसंघले पनि मध्यपश्चिम
विश्वविद्यालयमा चुनाव जित्न महामन्त्री सरोज थापाको नेतृत्वमा टोली खटाएको
छ । त्यस्तै माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष गंगा
तिमल्सिना सुर्खेतमा खटिएका छन् ।
मजदूर किसान पार्टीका विद्यार्थी अध्यक्ष निरज लबजुले लामो समयपछि हुन
लागेको स्ववियु चुनावलाई बिना अवरोध सम्पन्न गर्नुपर्ने भन्दै सुर्खेतमा
डेरा जमाएका छन् ।
८ गते चुनाव नगराउन दबाब
आन्दोलनकारीसँग वार्ता गरेर उम्मेदवारी मनोनयन सुचारु गर्ने तयारी
भइरहेको उपकुलपति कोइरालाले बताएका छन् । तर विप्लब क्रान्तिकारीका महासचिव
दिपेन्द्र चलाउनेले भने भदौ ८ गतेको चुनाव स्थगित हुनुपर्ने बताए ।
विश्वविद्यालय प्रशासनले सबै विद्यार्थीसँग सहमति नगरि चुनावको मिति
तोकेको र मतदाता नामावली दुई पटक टाँसेर फर्जी बिद्यार्थी भर्ना गरेकाले
आफूहरुले असहमति राखेको उनले बताए ।
चलाउनले अनलाइनखबरसँग भने- ‘हामी सहमति नजिक छौं, ८ गते बाहेक अरु कुनै
पनि मितिमा हुने चुनावमा हामी भाग लिन्छौं । तर फर्जी विद्यार्थी खारेज
हुनुपर्छ ।’ उनले आफूहरुले चुनावी सभा समेत भव्यतापूर्वक गरिसकेकाले चुनाव
नचाहेको आरोप गलत रहेको बताए ।
source:http://www.onlinekhabar.com
Post a Comment