0
१२ भदौ, चितवन । चितवनको मेघौलीमा गैंडा मारेको आरोपमा पक्राउ परेका नौ जनामध्ये चार जनालाई थुनामा राखेर थप अनुसन्धान गर्न कारागार चलान गरिएको छ ।
Chitwan Adalatआइतबार जिल्ला न्यायाधीश टेकनारायण कुँवरको इजलाशले २ जना भारतीय नागरिक र २ जना नेपाली नागरिकलाई कारागार चलान गर्न आदेश दिएको हो ।
गत साउन २४ गते मेघौली सराई नामक होटलको छेउँमा करेन्ट लागेर एक गैंडाको मृत्यु भएको थियो । सो घटनापछि प्रहरीले नौ जनालाई पक्राउ गरेको थियो ।
होटलमा प्राकृतिक विज्ञको रुपमा कार्यरत भारतीय नागरिक दिपु शशी, होटल म्यानेजर भारतकै रितेष भट्ट, नवलपरासीको देवचुली-२ का सिभिल ओभरसियर जीबन महतो र नारायणी नगरपालिका १ घर भएका इलेक्टि्रसियन सुनिल महतोलाई कारागार चलान गरिएको जिल्ला अदालत चितवनका सूचना अधिकृत कृष्णप्रसाद बरालले जानकारी दिए ।
पक्राउ परेकामध्ये सोही होटलमा कार्यरत नवलपरासीको मध्यविन्दु नगरपालिका-९ का सुवास गदाल (विक)लाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
यसैगरी नारायणी नगरपालिका-१ घर भएका प्लम्बिङ काम गर्ने विकास दराई, सोही ठाउँका सेक्युरिटी इञ्चार्ज विराज महतो, रत्ननगर नगरपालिका-१९ का बुद्धराम महतो र रौतहट कनपुर ५ का माहुते गिरिजालाल कछडिया सामान्य तारेखमा रिहा भएको अदालतले जनाएको छ ।
source:http://www.onlinekhabar.com

Post a Comment

 
Top