६ भदौ, नवलपरासी । नवलपरासीमा घरेलु हिंसाका प्रमुख कारक अत्यधिक मदिरा
(रक्सी) सेवन र बोक्सी कुप्रथामाथिको अन्धविश्वास नै भएको पाइएको छ ।
नवलपरासीको नेपाल भारत जोडिएको सीमा क्षेत्रका गाविसहरुमा श्रीमानले
मादक पदार्थ सेवन गरेर श्रीमतीमाथि कुटपिट गर्ने र असहाय, अशक्त तथा एकल
महिलाहरुलाई बोक्सीको आरोपमा यातना दिने गरेको स्थानीयहरुले बताएका छन् ।
नवलपरासीको मनरी र तिलकपुर गाविसमा क्रियाशील पत्रकार महिला नवलपरासीको
आयोजनामा भएको घरेलु हिंसा सम्बन्धी परामर्श कार्यक्रममा सहभागीहरुले यस्तो
बताएका हुन् । उनीहरुले महिला माथि पुरुषले मादक पदार्थ सेवन गरेर हिंसा
गर्ने गरेको बताए ।
त्यस्तै समाजका पुरुषहरुले असहाय, वृद्धा तथा एकल महिलालाई बोक्सीको
आरोपमा कुटपिट गर्ने, दुर्व्यवहार गर्ने र समाजमा बस्नै नसक्ने गरी अपमान
गर्ने गरेको समेत गुनासो गरे ।
क्रियाशिल महिला पत्रकार (डब्लुडब्लुजे) नवलपरासीका उपाध्यक्ष ज्ञानु
पंगेनीले कार्यक्रममा सहभागीहरुले रक्सी र बोक्सीको अन्धविश्वासका कारण
नवलपरासीका कतिपय क्षेत्रमा महिला हिंसा हुने गरेको पाइएको र विशेष गरी
सीमावर्ती क्षेत्रमा यस्तो समस्या बढी मात्रामा रहेको बताइन् ।
क्रियाशिल महिला पत्रकारले नवलपरासीको मुख्य-मुख्य क्षेत्र छनौट गरेर यस
क्षेत्रमा काम गरेको छ । मादक पदार्थ सेवन र बोक्सीको नाममा गरिएको
अन्धविश्वासकै कारण हुने अधिकाश हिंसाहरु पुरुषबाट हुने र त्यसमा निमुखा र
एकल महिलाहरु पर्ने गरेको पाइएको छ ।
समाजको डरका कारण महिला माथि हुने कुनै पनि हिंसाहरु बाहिर आउन नसकेको
भन्दै प्रक्रिया अनुसार हिंसाहरुको न्यूनीकरण गर्न समाजका हरेक व्यक्तिहरु
एक भएर लाग्नु पर्नेमा उनीहरुले जोड दिएका थिए ।
मनरी गाविसका सचिव गुन्जेश्वरीप्रसाद चौधरीले महिलामाथि हुने हिंसा
रोक्नका लागि सबै एक भएर लाग्नु पर्नेमा जोड दिए । उनले यस्तो घटना समाजमा
व्याप्त रहेपनि बाहिर आउन नसकेको बताए ।
तिलकपुर गाविस सचिव शकुन्तला शर्माले तिलकपुर गाविसमा पनि बोक्सीको
आरोपमा महिला माथि हिंसा हुने गरेको स्वीकार गरिन् । यस्ता घटनाहरु समाजमा
जति घटेका छन् तिभन्दा निक्कै कम घटनामात्र बाहिर आउने गरेको समेत बताइन् ।
source:http://www.onlinekhabar.com
Post a Comment