५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका
नेताहरुले प्रदेश सीमांकनको समस्या समाधान हुने गरी संविधान संशोधन
हुनुपर्ने बताएका छन् । आगामी कात्तिक महिनाभित्र स्थानीय चुनाव घोषणा नगरे
वैशाख महिनामा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने भनेर माओवादीसँग भएको
समझदारी धरापमा पर्ने उनीहरुले आशंका गरेका छन् ।
आइतबारबाट राजधानीमा सुरु कांग्रेसका
जिल्ला सभापतिहरुको भेलालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले प्रदेश
सीमांकनको समस्या समाधान हुने गरी संविधान संशोधन नभएसम्म स्थानीय तहको
निर्वाचन गर्न सम्भव नरहेको बताए । देउवाले स्थानीय तहको सीमांकनका विषयमा
लचिलो भएर सुझाव दिन केन्द्रीय सदस्य र जिल्ला सभापतिहरुलाई आग्रह गरे ।
सभापति देउवाले संविधान संशोधनकालागि मधेसवादी र अन्य दलसँग सहमति जुटाउन कांग्रेस लचिलो हुने पनि बताए ।
भेलामा नेता रामचन्द्र पौडेलले स्थानीय
जनताले सरकारी सेवा सुविधा छिटो र सहजरुपमा पाउने गरी स्थानीय तहको
पुनर्संरचना गरिनुपर्ने बताए । उनले स्थानीय तहको पुनर्संरचना गरेर चैत
महिनामा स्थानीय तहको निर्वाचन गर्ने या मंसिर महिनामा स्थानीय निकायको
निर्वाचन गर्ने भन्ने विषयमा सुझाव दिन जिल्ला सभापतिहरुलाई आग्रह गरे ।
अर्का नेता कृष्णप्रसाद सिटौलाले स्थानीय
तहको जतिसक्दो चाँडो पुनर्संरचना गरेर स्थानीय तहको निर्वाचन गरिनुपर्ने र
त्यसका लागि सरकारले पुनर्संरचना सम्बन्धी आयोगको कार्यक्षेत्र तत्काल
परिमार्जन गर्नुपर्ने बताए । उनले आयोगले चाँडो काम नसके तथा कात्तिक
महिनाभित्र निर्वाचनको घोषणा नगरे चैत महिनासम्म स्थानीय तहको निर्वाचन
सम्भव नहुने र वैशाख महिनामा पार्टीको नेतृत्वमा सरकार गठन गर्ने समझदारी
धरापमा पर्ने बताए ।
नेपाली कांग्रेसले स्थानीय तहको संख्या र
सीमाना निर्धारणका विषयमा सुझाव संकलनका लागि केन्द्रीय सदस्य र जिल्ला
सभापतिहरुको भेला आयोजना गरेको हो ।
स्थानीय तहको संख्या र सीमाना निर्धारण
आयोगले स्थानीय तहको संख्या बढीमा ५ सय ६५ मात्र हुने बताएपछि कांग्रेसले
आन्तरिक छलफल गरेको हो ।
भेलामा नेपाली कांग्रेसका सबै केन्द्रीय
सदस्य र ७५ वटै जिल्ला सभापतिहरुको सहभागीता छ । दुई दिनसम्म चल्ने भेलापछि
स्थानीय तहको पुनर्संरचनाबारे पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्ने
कांग्रेसले जनाएको छ ।
source:http://www.onlinekhabar.com
Post a Comment