७ भदौ, काठमाडौं । उर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आफ्नो
कार्यकालमा उर्जा क्षेत्रमा लगानीको वातावरण बनाउने बताएका छन् । उनले
निर्माणाधीन आयोजनामा भएका समस्या सुल्झाउने र नयाँ आयोजना निर्माणका लागि
लगानी जुटाउने आफ्नो मुख्य उद्देश्य रहेको बताए ।
मन्त्री शर्माले एउटा जलविद्युत आयोजना रोजेर बनाउन नेपाली सेनालाई
आफूले आग्रह गरेको बताए । ‘मैले सेनापतिलाई फोन गरेर एउटा विद्युत आयोजना
रोजेर बनाउन आग्रह गरिसकेको छु, मंगलबार मन्त्रालय आयोजित पत्रकार
सम्मेलनमा मन्त्री शर्माले भने, ‘लगानी देखाएर काम गर्छु भनेर आउनेलाई अब
मैले योजना दिने सोच बनाएकोछु, काम गर्नुपर्यो, वातावरण बनाउने जिम्मा
मेरो हुन्छ ।’
उर्जामन्त्री शर्माले विद्युत आयोजनाहरुको निर्माणमा सकेसम्म नेपाली
लगानी जुटाउने र ठूला आयोजनाका लागि विदेशी लगानीसमेत भित्र्याउने योजना
बनाएको सुनाए ।
पुराना आयोजनाको अवरोध सल्टाउने
मन्त्री शर्माले चमेलिया, माथिल्लो तामाकोशी लगायतका निर्माणाधीन
जलविद्युत आयोजनाको समस्या सल्ट्याउने र काम तीव्ररुपमा गराउने
प्रतिवद्धतासमेत जनाएका छन् । उनले चमेलिया जलविद्युत आयोजनामा रहेको
समस्याबारे छलफल गर्न सरोकारवालाई बोलाएकोसमेत जानकारी दिए ।
यस्तै पश्चिम सेती र बुढीगण्डकी परियोजना अगाडि बढाउन पनि पहल गर्ने
मन्त्री शर्माले बताएका छन् । उनले बुढीगण्डकीको लगानी योजना बनाउने कामलाई
पनि विशेष प्राथमिकतामा राखेको बताएका छन् ।
‘चमत्कार गर्न सकिँदैन’
मन्त्री शर्माले अहिले भएकै कर्मचारी र संरचनालाई लिएर काम गर्नुपर्ने
हुँदा कुनै चमत्कार गर्न नसकिने बताएका छन् । उनले भरसक सुधारका लागि काम
गर्नेसमेत बताएका छन् । साथै उनले उर्जा संकट कार्यान्वयनमा ध्यान दिने र
त्यसका लागि आवश्यक नियम/कानुन बनाउने कुरामा आफ्नो ध्यान पुगेको बताएका
छन् ।
यस्तै विद्युत आयोजना निर्माणमा अवरोध गर्ने सन्दर्भमा मन्त्री शर्माले
भने, ‘आयोजना रोक्दा ठेकेदार कम्पनी, यहाँका कर्मचारीलाई पनि फाइदा
पुग्दोरहेछ, काम रोकिनुको रहस्य गम्भीर रहेछ, काम अड्काउन अनेक गरिँदोरहेछ
त्यतातिर मेरो ध्यानाकर्षण भएको छ ।’
source:http://www.onlinekhabar.com
Post a Comment