दस वर्षे द्वन्द्वकालमा गाउँगाउँमा माओवादी विद्रोही र राज्यको सेनाले
एकले अर्कोलाई तारो बनाउँदै थिए । त्यसको घानमा थुप्रै निहत्था नागरिक
परिरहेका थिए । यो सबै काठमाडौंका कलाकार रविन्द्र श्रेष्ठले नजिकबाट
नियाल्दै आएका थिए ।
०६२/६३ को आन्दोलनपछि राजनीतिक दलहरूको अगुवाइमा माओवादीलाई शान्ति
प्रक्रियामा ल्याउने काम थालियो । तर, आपसी शंका-उपशंका बाँकी नै थिए ।
त्यतिबेला उनी साँखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा ल्याब
असिस्टेन्टका रुपमा काम गर्थे । बुबाको व्यापार चौपट भएपछि घर खर्च
धान्नुपर्ने जिम्मेवारी उनकै काँधमा आइपरेको थियो । सीटीईभिटीबाट तालिम
लिएर त्यो काम गर्न थालेका थिए ।
देशलाई द्वन्द्वले थिलथिलो बनाएको कालखण्ड उतारिएको चित्रबारे कलाक्षेत्र, राजनीतिक र सामाजिक कित्ता कतैबाट चासो नदिँदा मन कुँढिएको छ । यस्तै उपेक्षा भइरहे यो चित्र विदेशको कुनै संग्रहालयलाई दिन्छु
ल्याबमा बिरामीको रगत जाँच्न नमुना संकलन गर्ने क्रममा दिनहुँ रगतसँग
खेल्नुपथ्र्यो । अस्पतालमा कहिले घाइते अवस्थाका माओवादी लडाकु त कहिले
सेना आइपुग्थे । युद्धका रक्तिम किस्सा तिनका मुखबाट सुनेर रविन्द्रलाई
भाउन्न हुन्थ्यो ।
उनीभित्रको कलाकार कति संवेदनशील भने, जुनसुकै रङ देखे पनि आँखा अगाडि
रगत नै आउँथ्यो । त्यसबेलासम्म उनी थाङ्का (पौभा) कलामा देवीदेवता र फूलको
चित्र बनाउँदै आएका थिए । देशमा रगतको छिटा परेका बेला फूल र भगवान्को
चित्र किन बनाउने ? उनले त्यसमा अर्थ भेटेनन् ।
उनले रगतलाई नै रङको रुपमा प्रयोग गरेर चित्र बनाउने सोचे । त्यस क्रममा
अरुका साथै आफ्नै रगतबाट चित्र रङ्ग्याउन सुरु गरे । एउटा कलाकार
अस्पतालको ल्याबमा काम गरिरहेकाले यो संयोग जुरेको थियो ।‘द्वन्द्वको चेपुवामा परेर त्यत्रा मान्छे मरेका थिए, असहाय, विधवा र
टुहुरा भएका थिए,’ ३८ वर्षीय कलाकारले ब्लड पेन्टिङ गर्नुको कारण खुलाए,
‘त्यति बेलाको समय चित्रमा उतार्न रगतभन्दा उपल्लो तहको माध्यम नै देखिनँ
।’
रविन्द्रले ब्लड पेन्टिङको सिरिज नै बनाए, १०/१५ वटा । तीमध्ये एउटा चित्र विशेष छ ।
अस्पतालको ल्याबमा सबैथरी बिरामी आउने भइहाले । त्यसमा पनि सेना र
माओवादीका मान्छेहरूसँग उनको घुलमिल बढ्दै गयो । तिनमा कतिपय त आफ्नै साथी
थिए । ल्याबमा अलिकति सैनिक जवानको रगत लिए, अलिकति माओवादी लडाकुको ।
त्यो बेग्लाबेग्लै रगतको नमुनाबाट क्यानभासमा दुई शान्तिकामी आँखा बनाए ।
पृष्ठभूमिमा उनले आफ्नै रगत पोते । रगत त सबैको रातै हुन्छ, चित्रमा कुन
आँखा सैनिक जवानको र कुन चाहिँ माओवादी छापामारको हो भनेर छुट्याउन सकिन्न ।
‘त्यही नै हो समायोजन । त्यसबाट एउटा आँखा हटाउने बित्तिकै सन्तुलन
बिगि्रन्छ,’ उनले अर्थ खुलाए ।
चित्रको शीर्षक उनले ‘समायोजन’ राखेका छन् । यसबाट उनले मान्छेहरू
विभिन्न नाममा आपसमा जतिसुकै लडे पनि आखिरमा नमिली सुखै छैन भन्ने भाव
दर्शाएका छन् । राजनीतिक दलहरू कुर्सी र दलगत भागबण्डाका लागि सबथोक
बिर्सेर निरन्तर जुधिरहँदा उनी आफ्नो चित्रको दुई आँखामा सन्तुलन र
हार्दिकता खोज्छन् ।
यो चित्र विभिन्न सामूहिक कला प्रदर्शनीमा राखे उनले । त्यहाँ मोहन
वैद्यदेखि अहिलेका उपप्रधानमन्त्री कृष्णबहादुर महरासम्म अवलोकन गर्न आए ।
एकैछिन रविन्द्रको कलाकारी खुबीको तारिफ गरे अनि बाटो लागे ।
देशलाई द्वन्द्वले थिलथिलो बनाएको कालखण्ड उतारिएको चित्रबारे
कलाक्षेत्र, राजनीतिक र सामाजिक कित्ता कतैबाट चासो नदिँदा उनको मन
कुँढिएको छ । संवेदनशील समय बोल्ने कलालाई राष्ट्रिय सम्पत्ति मानेर
संरक्षण गरिनुपर्नेमा सबै बेखबर जस्तै बने । भन्छन् – ‘केही समय हेर्छु ।
यस्तै उपेक्षा भइरहे यो चित्र विदेशको कुनै संग्रहालयलाई दिन्छु ।’
त्यसअघि यो चित्र व्यवस्थापिका संसद्मा लगेर देखाउने इच्छा छ उनको । ता
कि जनप्रतिनिधिले हेरुन् र बुझून् समायोजन र मेलमिलापको अर्थ ।
आठ वर्षअघि रगतको चित्र बनाइरहँदा रविन्द्रले पछि मात्र पो थाहा पाए, यो
त मानव अधिकारको इस्यु बन्न सक्छ । तर, त्यो त समयको माग थियो र उनको
उमेरको आवेग पनि । अहिले त्यस्तो चित्र बनाउने सोच्न समेत सक्दैनन् उनी ।
बरु फाइन आर्ट पढ्न थालेदेखि उनको मुख्य चिनारी बनेको छ, लाइन आर्टिस्ट ।
ब्रह्माण्डमा रेखैरेखा
काठमाडौं विश्वविद्यालयको फाइन आर्टका विद्यार्थी हुन् रविन्द्र ।
कलेजको ६ महिने कला प्रोजेक्टमा दुई वर्षअघि उनले लाइन आर्ट (रेखा कला)
रोजेका थिए । त्यस क्रममा ‘द लाइन- सोल अफ युनिभर्स’ शीर्षकमा २० जना
कलाकारसँग सहकार्य गरे । नेपाली कला फाँटमा उनले गरेको यो काम फरक हो ।उनले हरेक कलाकारलाई ६ फिट लम्बाइ र तीन फिट चौडाइको छुट्टाछुट्टै
क्यानभासमा तीन इन्चको रेखा छुट्याएर त्यसभित्र चित्र कोर्न दिए । यो
‘कोल्याबोरेसन प्रोजेक्ट’मा शशि शाह, किरण मानन्धर, मनुजबाबु मिश्र,
वीरेन्द्रप्रताप सिंह, प्रेममान चित्रकार, एससी सुमन, संगी श्रेष्ठदेखि ६
वर्षीया विज्ञता सत्यालसम्मका कलाकारले आफ्नो कला देखाए । विविध शैली र
पृष्ठभूमिका यी कलाकारले ६ महिना लगाएर सिर्जना तयार पारे ।
लाइनभित्र उनी आफैंले मात्र चित्र बनाएको भए विविधता आउँदैनथ्यो । तर,
फरक विधामा जमेका कलाकारसँग सहकार्य गर्दा तिनको संवेदना, कला परिचय,
विधासापेक्ष प्रभाव फरक-फरक रुपमा प्रकट भएको छ । लाइन आर्टमा मूर्त,
अमूर्त चित्रका साथै मिथिला कलादेखि नेवारी कला थाङ्कासम्म अटाएका छन् ।
कसरी सुरु भयो त लाइन आर्टको मोह ?
६ वर्षअघि कलेजको सुरुवाती दिनमा रविन्द्रले चित्र कोरिरहँदा गुरुले यो
मिलेन, त्यो मिलेन भन्दै कतै लाइन मेटिदिन्थे भने कतै आकार आएन भन्दै गोलो
घेरा बनाइदिन्थे । कहिले लाइन हुन्छ भन्थे, कहिले हुँदैन भन्थे । लाइनको
कुरा भइरहँदा संसारमा कुनै पनि वस्तुको शक्ति भनेको त्यसको सेप वा आकार हो
भन्ने उनको दिमागमा बस्यो । ‘त्यसले मलाई स्ट्राइक गरेपछि लाइन आर्टको मोह
छोड्नै सकिनँ,’ उनले भने- ‘ब्रह्माण्डभरि नै कतै देखिने र कतै नदेखिने रेखा
हुन्छन् भन्ने हिसाबले मेरा हरेकजसो प्रोजेक्टहरूमा लाइन आयो ।’
भूकम्पमा जोडिएका तिनै ६४ जना जनाको औंठाछाप स-साना क्यानभासमा लिए । त्यसमा घरघर गएर भिक्षा मागेको चामल सहयोग गर्ने साधुदेखि भूकम्पपीडितका लागि लाखौं रुपैयाँ सहयोग गर्ने दाताहरूको समेत औंठाछाप छ ।
उनले गरेको कोल्याबोरेसन आर्टमा पनि नदेखिने रेखाको विशेष भूमिका छ । २०
जना कलाकारलाई चित्र बनाउन दिँदा उनले क्यानभासमा पेन्सिलले रेखा कोरेर
दिएका थिए । चित्र बनिसक्दा त्यो रेखा मेटिएर कलाकारको सिर्जना मात्र
दृश्यमा थियो । त्यहाँ रविन्द्रको भूमिका पर्दापछाडिको जस्तो देखिए पनि
उनको रेखाकै परिधिमा कलाकारले सिर्जना पस्किएकाले त्यसमा सहकार्य झल्किन्छ ।
यसैले हरेक चित्रमा चित्र कोर्ने कलाकारसँगै रविन्द्रको पनि हस्ताक्षर छ ।
लाइन आर्टमा सहकार्य गरेका अग्रज कलाकारहरूले लाइनलाई कोरिया जाने र्फम
भर्न विवश युवाको लाइनदेखि सभ्यता र सम्प्रदायको लाइन भन्दै पूरै विश्व
लाइनको जञ्जालमा जेलिएको बृहत् अर्थमा व्याख्या गरेका छन् ।
पछिल्लो समय काठमाडौं उपत्यकामा भूकम्पबाट भत्किएका विभिन्न मठमन्दिर
चहारे उनले । केही मन्दिर पूरै ढलेका र चर्केका थिए । कतिपयका टुँडालहरू
उछिट्टएिका र उप्किएका थिए । यत्रतत्र छरिएका र नाशिन लागेका काष्ठकला र
वास्तुकलाको फोटो खिचेर ल्याए ।
ती कलात्मक बुट्टाहरूलाई आफ्नो लाइन आर्टअन्तर्गत नै राखेर रेखाचित्र
कोरे । मिहीन बुट्टा उत्रने गरी क्यानभास वारपार सजाए । त्यो प्रोजेक्टलाई
उनले नाम दिए – ‘भूकम्पको रेखा’ । यसले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको
प्रतियोगितामा यसै वर्ष नेशनल स्पेशल अवार्ड पनि जित्यो ।
उनी सबै कुरामा लाइन नै देख्छन् । चर्केको भित्ता, घाम उदाउने भिरालो डाँडा, कफी पिउँदै गरेको कप, सहरका असरल्ल तार, रुखका लहरा ।
सामान्यतया लाइन एउटा विन्दुबाट सुरु भई अर्को बिन्दुसम्म पुगेपछि
अस्तित्वमा आउँछ । तर, यी लाइन आर्टिस्टको हेराइ अलि सूक्ष्म छ । उनी
विन्दुमा पनि लाइन देख्छन् । ‘एउटा प्वाइन्टलाई जुम इन गरेर हेर्यो भने
त्यहाँ पनि त गोलो घेरा हुन्छ,’ उनले भने ।
कोल्याबोरेसन आर्टको अवधारणालाई अब अन्तर्राष्ट्रिय स्तरमा पनि लैजाने
उनको सोच छ । नेपाली कलाकारसँग सहकार्य गरे जस्तै विभिन्न एक सय वटा देशका
कलाकारसँग मिलेर काम गर्ने प्रक्रिया अघि बढाइसकेका छन् । त्यसबाट ‘कनेक्सन
फर पिस’ को सन्देश दिने उद्देश्य छ ।
अन्तर्राष्ट्रिय स्तरमा जाने उनको अर्को प्रोजेक्ट छ, फिंगरपि्रन्ट आर्ट
। अर्थात् उनले क्यानभासमा विभिन्न देशका मान्छेको औंठाछाप लिएर विश्व
कुनै न कुनै माध्यमले जोडिएको छ भनेर शान्ति-सद्भावको सन्देश फैलाउने सोच
बनाएका छन् ।
source:http://www.onlinekhabar.com
Post a Comment