१२ भदौ, काठमाडौं । स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने आवाज
उठिरहेका बेला व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम
समितिले आकर्षक तलब सुविधासहितका रोजगारीका नयाँ गन्तव्य मुलुकको पहिचान
गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिले आइतबार श्रम तथा रोजगार
मन्त्रालयका सचिव विष्णुप्रसाद लम्साल र परराष्ट्र मन्त्रालयका सचिव
शंकरदास वैरागीलाई बोलाएर छलफल गरी यस्तो निर्देशन दिएको हो ।
खासगरी
साउदी अरेबियामा रोजगारीका अवसर गुम्दै गएको सन्दर्भमा नयाँ गन्तव्य
मुलुकको पहिचान गर्न निर्देशन दिइएको समितिका सभापति प्रभु साहले जानकारी
दिए ।
समितिले नयाँ गन्तव्य मुलुक र तिनमा कामदारले पाउने सेवा
सुविधाबारे परराष्ट्र मन्त्रालय मातहत रहेका नियोगमार्फत सम्पर्क गरी एक
महिनाभित्र कार्ययोजना पेश गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन पनि
दिएको छ ।
बैठकमा परराष्ट्र मन्त्रालयका सचिव वैरागीले भने वैदेशिक
रोजगारीमा कस्ता कामदार पठाउने भन्ने बारेमा यकिन नभइ नयाँ गन्तव्य मुलुकको
पहिचान गर्न अप्ठेरो हुने बताए । उनले नेपाली कामदारहरु अदक्ष र अर्धदक्ष
भएका कारण उनीहरुले खाडी मुलुकमा आकर्षक तलब पाउन नसकेको भन्दै आकर्षक
सुविधा कामदारको सीपसँग सम्बन्धित भएकाले वैदेशिक रोजगारीमा पठाइने
कामदारका सम्बन्धमा राष्ट्रिय नीति तय हुन आवश्यक रहेको बताए ।
बैठकमा
समितिका केही सदस्यहरुले युवा शक्तिलाई विदेश पठाउनु भन्दा स्वदेशमै
रोजगारीका अवसर सिर्जना गरी विदेशिएका नेपालीहरुलाई फर्काउनुपर्ने धारणा
राखेका थिए ।
source:http://www.onlinekhabar.com
Post a Comment