५ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्षी
नेकपा एमालेले संविधान संशोधनका विषयमा भारतमा छलफल गरेको भन्दै सरकारको
आलोचना गरेको छ ।व्यवस्थापिका संसदको आइतबार बसेको बैठकमा प्रमुख
प्रतिपक्षी एमालेका सांसदहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई
संविधान संशोधन हुन्छ भनेर चिठी दिइनु आपत्तिजनक भएको बताएका छन् ।
प्रधानमन्त्रीको विशेष दूतका क्रममा
नयाँदिल्ली पुगेका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले
शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बुझाएको प्रधानमन्त्री
प्रचण्डको पत्रमा संविधानलाई संशोधन गरेर सर्वस्वीकार्य बनाउने उल्लेख छ ।
एमाले सांसद यज्ञराज सुनुवारले संविधान
संशोधनबारे दिल्लीमा छलफल गर्न पुगेर सरकारले दिल्लीको इशारा विना केही काम
हुँदैन भन्ने सन्देश दिएको भन्दै यो राष्ट्रिय लज्जाको विषय भएको बताए ।
नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम
सुवालले पनि नेपालको संविधान संशोधनका विषयमा दिल्लीमा छलफल हुनु
राष्ट्रियताको दृष्टिले चिन्ताको विषय भएको बताए ।
संसद बैठकमा विशेष समय लिएर बोलेका
एमालेका सांसदहरुले भूकम्प प्रभावितहरुलाई घर बनाउनका लागि पहिलो किस्ताको
रकम दिन ढिलाइ गरिएकाप्रति कांग्रेसमाथि कटाक्ष गरे ।
एमाले सांसदहरु रामहरी सुवेदी र यज्ञराज
सुनुवारले प्रतिपक्षमा रहेका बेला भूकम्प प्रभावितहरुलाई पहिलो किस्तामा
डेढ लाख रुपैयाँ दिनुपर्यो भनेर सदन अवरुद्ध गर्ने कांग्रेसले सरकारमा
गएपछि भूकम्प प्रभावितलाई किन विर्सियो भनेर प्रश्न गरे । प्रतिपक्षमा छँदा
चर्को स्वर गर्ने अनि सरकारमा गएपछि मुन्टो लुकाएर हिंड्ने कांग्रेसी
प्रवृत्तिलाई भूकम्प प्रभावितहरुले नजिकबाट नियालिरहेको उनीहरुले बताए ।
प्रतिपक्षी सांसदहरु खनिएपछि सत्तारुढ
कांग्रैसकै सांसदहरुले पनि भूकम्प प्रभावितहरुलाई पहिलो किस्तास्वरुप डेढ
लाख रुपैयाँ दिने भनेर संसदमार्फत गरिएको घोषणा तत्काल कार्यान्वयन गर्न
सरकारको ध्यानाकर्षण गराए ।
संसद बैठक भदौ १२ गतेसम्मका लागि स्थगित गरिएको छ ।
source:http://www.onlinekhabar.com
Post a Comment