0
५ भदौ, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारले सत्ताको दुरुपयोग गर्न सक्ने भन्दै कडा निगरानी गर्ने निर्णय गरेको छ ।
Uml-meetएमाले स्थायी कमिटीको आइतबार बसेको बैठकले केपी ओली नेतृत्वको सरकारले अघि सरेको नीति तथा कार्यक्रम र बजेटको निरन्तरता र कार्यान्वयनको माग गरेको छ । ‘सरकारको तर्फबाट हुन सक्ने कुनै पनि अनुचित क्रियाकलाप तथा सत्ताको दुरुपयोगप्रति कडा निगरानी गर्ने निर्णय भएको छ’ एमालेले भनेको छ ।
आफ्नो नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटलाई अघि सार्दै देशव्यापी पार्टी परिचालनको कार्ययोजना अघि सार्ने एमालेको निर्णय छ ।
सत्तारुढ दलरुको नियम मुलुकलाई संवैधानिक र राजनीतिक रित्ततामा लैजाने हुन सक्ने भन्दै एमालेले अघिल्लो सरकारले घोषणा गरेको मितिमा चुनावहरु गर्न र त्यसका लागि आवश्यक कानुन, प्रशासनिक र भौतिक तयारीमा जुट्न ध्यानाकर्षण गराएको छ ।
संविधान संशोधनप्रति सकारात्मक !
एमाले स्थायी कमिटी बैठकले संविधानको संशोधनप्रति सैद्धान्तिक रुपमा सकारात्मक दृष्टिकोण रहेको बताएको छ । तर, राष्ट्र र जनताको विपक्षमा आउने कुनै पनि प्रस्तावलाई अस्वीकार गर्ने एमालेले प्रष्ट पारेको छ ।
माओवादी नेतृत्वको पदलोलुपताले सरकार ढल्योः ओली
एमाले बैठकमा निवर्तमान प्रधानमन्त्री केपी शमर्हा ओलीले माओवादी र प्रचण्डको अस्थिर राजनीतिक चरित्र, पदलोलुपता, उग्र महत्वकांक्षाका कारण सरकार ढलेको बतए ।
सुरुमा नै आफ्नो नेतृत्वमा सरकार गठन गर्न नदिने षड्यन्त्र भएको तर, त्यसलाई चिर्दै सरकार बनाउन सफल भएको उनले बताए । उनले भने, नौ महिनाको अवधिभित्र नेपाली जनतामा सकरात्मक आशावादिता सृजना गर्न हाम्रो सरकार सफल रह्यो ।’
आफ्नो सरकारले देश र जनताको हितमा दुरगामी महत्वको फैसला गरेको, नीति, कार्यक्रम र बजेटमार्फत राष्ट्रको दिर्घकालीन गन्तव्यको तस्वीर जनसमक्ष प्रस्तुत गरेको उनले दाबी गरे ।
‘राष्ट्रिय स्वाभिमान, मुलुकको आत्मनिर्णय, स्वतन्त्रता र राष्ट्रिय अठोटलाई बलियो बनायौं’ एमाले अध्यक्ष ओलीले भने, समग्रमा सरकारले नेपाल राष्ट्र, नेपाली जनता र एमालेको इज्जत र प्रतिष्ठालाई युगौं युगसम्म सम्झनलायक हुने ढंगले माथि उठाएको छ । यसमा सिंगो पार्टी गर्वबोध गर्दछ ।’
source:http://www.onlinekhabar.com

Post a Comment

 
Top