८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल
दाहाल ‘प्रचण्ड’ले काभ्रे पाँचखालका दलित युवा अजित मिजारको हत्याबारे
छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन गृह प्रशासनलाई निर्देशन
दिएका छन् ।
बुधबार सिंहदरबारमा दलित अगुवाहरुले
मिजारको हत्या भएको भन्दै छानविन समिति बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण
गराएका थिए । बिहान साढे १० बजे ज्ञापनपत्र बुझेलगत्तै प्रधानमन्त्रीले
गृहसचिव नारायण गोपाल मलेगो र प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई
कार्यकक्षमा बोलाएर छानविन समिति बनाउन निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीले निर्देशन दिँदै भने,
‘काभ्रे पाँचखालमा दलित युवाको हत्या भएको भन्दै दलित नेताहरुले ज्ञापनपत्र
बुझाउनुभएको छ । यसको यथार्थ के हो ? निष्पक्ष छानविनका लागि गृह
मन्त्रालयका सहसचिवको नेतृत्वमा छानविन समिति बनाउनुस् र आवश्यक कार्वाहीको
प्रक्रिया अगाडि बढाउनुहोस् ।’
भेटमा गृहसचिव मलेगो र महानिरीक्षक
अर्यालले प्रधानमन्त्रीको निर्देशन बमोजिम तत्कालै छानविन समिति बनाउने
प्रतिवद्धता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आफूहरुले ज्ञापनपत्र बुझाएको एक
घण्टाभित्रै प्रधानमन्त्री प्रचण्डले गम्भीरता देखाउँदै गृहसचिव र प्रहरी
महानिरीक्षकलाई बोलाएर छानविन गर्न निर्देशन दिएकामा दलित अगुवाहरुले खुसी
व्यक्त गरेका छन् ।
नेता तिकल परियारले भने, ‘मिजार
हत्याकाण्ड शंकास्पद छ । प्रधानमन्त्रीले चासो दिएर छानविन गर्न निर्देशन
दिएकाले सत्यतथ्य बाहिर आउँछ र दोषी कारवाहीको भागिदार हुन्छ भन्ने विश्वास
छ ।’
मिजारले गत असार २५ गते गाउँकै एक
युवतीसँग अन्तरजातीय बिहे गरेका थिए । तर २७ गते माइती पक्षले जबर्जस्ती
छुटाएका थिए । त्यसको दुई दिनपछि धादिङको गजुरीमा मिजारको शव गाडिएको
अवस्थामा फेला परेको थियो ।
source:http://www.onlinekhabar.com
Post a Comment