५ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यातायात
सम्बन्धि सेवा प्रदायक कार्यालय थप्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री
रमेश लेखकलाई निर्देशन दिएका छन् । काठमाडौंमा थप दुई कार्यालय र भक्तपुरमा
एक कार्यालय थप्न प्रचण्डले निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सोमबार बिहान मन्त्री रमेश लेखक र यातायात
सचिवलाई निवासमै बोलाएर यथाशिघ्र सेवा प्रदायक कार्यालय थप्न निर्देशन
दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
‘सेवाग्राहीको बढी भिडभाड बढी हुने भएकाले काममा ढिलासुस्ती हुने गरेको जनगुनासो छ ।
त्यसैले यातायात कार्यालयको कामलाई छिटो छरितो, प्रभावकारी, सुलभ र
जनमैत्री बनाउन थप कार्यालय खोल्न निर्देशन दिनु भएको हो,’ प्रधानमन्त्री
प्रचण्डका सचिवालय सदस्य प्रकाश दाहालले भने ।
जनताले दुःख नपाउने गरी सबै सरकारी कार्यालयहरुलाई सेवाग्राही मैत्री
बनाउने सरकारको नीति नै रहेकाले अन्य कार्यालयहरुमा पनि त्यसैअनुसार
गृहकार्य हुने दाहालले बताए ।
प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकामा सवारी चालक अनुमति पत्र,
लाइसेन्स, बिलबुकको नवीकरण, रुट परमिट लगायतका कामलाई सेवाग्राहीको
चाहनाअनुसार सहज बनाउन उपत्यकामा भक्तपुरमा १ र काठमाडौंमा थप २ कार्यालय
थपेर छिटो सेवा दिने व्यवस्था गर्न मन्त्री लेखकलाई भनेका थिए ।
यसैगरी सवारी चालक अनुमति पत्रको परीक्षा एकैचोटी चार-पाँच हजारको
संख्यामा लिन, नविकरण, रुट परमिट लगायतका कामलाई अनलाइन प्रणालीबाट सुरु
गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीले सवारी चालक अनुमति पत्रको लिखित परीक्षाका लागि
स्कूल, कलेजको घर भाडामा लिएर एकैचोटी चार, पाँच हजारको संख्यामा परीक्षा
दिन सकिने व्यवस्था गर्न, अनलाइन फारमको व्यवस्था गर्न, नवीकरण, रुट
परमिटलगायतका कामलाई अनलाइन प्रणालीबाट प्रारम्भ गर्न, कलेजका स्वयम्सेवा
गर्न चाहने विद्यार्थीहरुलाई अभिमूखीकरण तालिम दिएर काममा खट्नसक्ने
व्यवस्था गर्न पनि निर्देशन दिएको सचिवालयले जनाएको छ ।
भेटमा मन्त्री लेखकले आवश्यक गृहकार्य गरेर प्रधानमन्त्रीको निर्देशन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका थिए ।
source:www.onlinekhabar.com
Post a Comment