८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल
दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र सार्वजनिक
गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले माग गरेको छ ।
साथै उसले संविधान संशोधनबारे देशभित्र कुनै परामर्श नगरेको तर, विदेशी भूमिमा छलफल गरेको भन्दै आपत्ति जनाएको छ ।
एमालेले भारततर्फ संकेत गर्दै कुनै देशको
अतिरिक्त चासोका आधारमा संविधान संशोधन हुन नसक्ने बताएको छ । ‘तर, अहिले
जे आधारमा र जुन ठाउँमा संविधान संशोधनका लागि चर्चा चलाइएको छ, यो
आपत्तिजनक र निरर्थक छ,’ स्थायी कमिटी बैठकपछि एमालेले विज्ञप्ति जारी
गर्दै भनेको छ, ‘संविधान संशोधन हाम्रो देशको आन्तरिक विषय हो र यहाँका
राजनीतिक दलहरूले महसुस गर्ने आवश्यकतामा यो निर्भर रहन्छ ।’
सरकारले पूर्णता नपाउँदै र परराष्ट्र
मन्त्रालयको जिम्मेवारी कसैलाई नसुम्पदै छिमेकी देशमा विशेष दूत पठाउनु गलत
भएको उसले बताएको छ । संविधान संशोधनलगायत आन्तरिक मामिलाबारे
प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्रीलाई पत्र पठाइएको चर्चा रहेको भन्दै
एमालेेले यसले स्वाधीनता र स्वतन्त्र निर्णय गर्ने हैसियतमा आँच पुर्याएको
ठहर गरेको छ ।
सरकारले आन्तरिक मामिलामा अवाञ्छित बाह्य
चासो निम्त्याउने त्रूटिपूर्ण काम गरेको भन्दै एमालेले प्रधानमन्त्रीबाट
पठाइएको भनिएको पत्र सार्वजनिक गर्न माग गरेको छ । साथै, नेपालको भविष्य
नेपाली जनता आफैंले निर्धारण गर्ने मान्यता र स्वाभिमानमा आघात पुर्याउने
कुनै किसिमका काम नगर्न सरकारलाई सचेत गराएको छ ।
source:http://www.onlinekhabar.com
Post a Comment