५ भदौ, बागलुङ । बागलुङको पश्चिम
क्षेत्रका बाढी पहिरो पीडितलाई वितरण गर्न भनेर संकलन गरिएको राहत सामाग्री
सदरमुकाममै थन्किएको छ । गत साउन १० गतेको अविरल वर्षापछिको बाढी पहिरोका
कारण प्रभावित बनेकाहरुकालागि भन्दै संकलन गरिएको राहत सामाग्री तथा नगद
अहिलेसम्म गाउँ पुग्न सकेको छैन ।
बाढी पीडितका लागि भन्दै जिल्लामा नेपाली
कांग्रेसले एक लाख १३ हजार आठ सय ८९ रुपैयाँ, नेकपा एमालेले दुई लाख, नेपाल
पत्रकार महासंघले एक लाख ९३ हजार आठ सय, नेपाल मगर संघले तीन लाख ८५ हजार,
लियो क्लब अफ बागलुङ कालिकाले एक लाख ५० हजार रुपैयाँ संकलन गरेका छन् ।
यीमध्य अधिकांशले सडक सञ्चालन भएपछि राहत पुर्याउने भने पनि प्रभावित
क्षेत्रमा नियमित यातायातका साधन सञ्चालन भएको एक हप्ता बितिसक्दा पनि राहत
पुर्याएका छैनन् ।
अधिकारीचौर छालन्नाका पीडित निमबहादुर
बुढाले सदरमुकाम, राजधानीलगायतका ठाउँमा रकम संकलन भएको भनेर सुनेको तर
त्यो राहत अहिलेसम्म देख्न नपाएको बताए ।
बाढी पहिरोका कारण बाग्लुङमा छ जनाको
मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । यसैगरी १ सय २३ घर परिवार
विस्थापित भएका छन् । घरवारविहीन बनेका अधिकांश अहिले पनि आफन्तको शरणमा
बस्न बाध्य छन् । पीडितहरुको पुनःस्थापनाकालागि समेत जग्गा अभाव भएको छ ।
देश बिदेशबाट बाढी पहिरो पीडितका लागि
भनेर रकम संकलन गरे पनि घटनाको तीनसाता बितिसक्दा समेत पीडितले नपाउँदा
स्थानीयहरुले रकम दुरुपयोग हुनसक्ने आशंका गर्न थालेका छन् ।
जिन्सी सामानसहित लाखौ रुपैयाँ नगद संकलन
भएको अनौपचारीक जानकारी भएपनि अहिलेसम्म औपचारीक रुपमा कति राहत रकम तथा
सामाग्री संकलन भएको छ भन्ने तथ्यांक नभएको बागलुङका सहायक प्रमुख जिल्ला
अधिकारी ध्रुव गिरीले बताए ।
दैविप्रकोप उद्वार समितिले गठन गरेको
राहात वितरण समन्वय समितिका संयोजक समेत रहेका गिरीले जिल्लाभित्र संकलित
राहात रकमलाई एकीकृत गर्ने उद्देश्यले बैंक खाता सञ्चालन गर्न लागेको
जानकारी दिए । गिरीले केहि व्यक्ति तथा संस्थाहरुले आफैले पीडितलाई राहत
वितरण गर्ने बताए पनि अझैसम्म वितरण भएको जानकारी नआएको बताए ।
source:http://www.onlinekhabar.com
Post a Comment