0
७ भदौ, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीले कानून व्यवसायीहरुमाथि पेशामा भन्दा राजनीतिमा बढी केन्द्रीत भएको आरोप लगाएकी छन् ।प्रधानन्यायाधीश कार्कीले मंगलबार कानुन व्यवसायीहरुकै सामुन्ने पेशामा भन्दा राजनीतिमा बढी ध्यान दिएका कारण त्यसको असर फैसलामा परेको बताइन् ।
Sushila-Karkiसर्वोच्च अदालत बार इकाइले सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुको सम्मानमा गरेको कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले विद्धान कानून व्यवसायीहरुले वकालतको क्षेत्रमा कम मिहेनत गर्न थालेकाले उदाहरणीय फैसलाहरु हुन नसकेको बताइन् ।
न्यायाधीशको एक्लो प्रयासले मात्र न्याय सम्पादन हुन नसक्ने भन्दै उनले कानून व्यवसायीहरुलाई अध्ययनमा ध्यान दिन आग्रह गरिन् । उनले न्याय सम्पादनका क्रममा हुने कमजोरी सच्याउन सर्वोच्च तयार रहेको जानकारी दिइन् ।
सर्वोच्च बार इकाइका अध्यक्ष शैलेन्द्रकुमार दाहालले राजनीतिक पार्टीसँग जोडिंदा माथिल्लो पद चाँडै पाइने उदाहरण न्यायाधीश नियुक्तिबाट पुष्टि भइसकेको भन्दै कानून व्यवसायीले राजनीति गर्नुलाई अन्यथा रुपमा लिन नहुने बताए ।
उनले सर्वोच्चले वरिष्ठ अधिवक्ताको उपाधि दिने आधार के हो ? भनेर प्रधानन्यायाधीश कार्कीसँग प्रश्न गरे ।
कार्यक्रममा नेपाल बार एशोसियशनका अध्यक्ष शेरबहादुर केसीले न्याय सम्पादनका क्रममा कुनै किसिमको कमजोरी नगर्न र विवादित नहुन सर्वोच्चका नवनियुक्त न्यायाधीशहरुसँग आग्रह गरेका छन् ।

Post a Comment

 
Top