७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका
सभापति शेरबहादुर देउवाले कांग्रेसको तर्फबाट सरकारमा जाने मन्त्रीहरुको
टुंगो लगाइसकेको बताएका छन् । उनले मन्त्री छनोटका विषयमा पार्टीमा कुनै
पनि विवाद नरहेको बताए ।
कांग्रेस महामन्त्री शशांक कोइरालाले
मंगलबार टोखास्थित निवासमा आयोजना गरेको भेटघाट तथा चियापान कार्यक्रममा
देउवाले भने, ‘सबै टुंगो लागिसकेको छ । बुधबार मन्त्रिपरिषद विस्तार हुन्छ
।’
कांग्रेसले भागमा परेका १३ मन्त्रालयमध्ये
हालसम्म विमलेन्द्र निधि र रमेश लेखकमात्र सरकारमा छन् । अझै ११ जनालाई
कांग्रेसले छनोट गर्न बाँकी छ ।
पार्टीमा विवाद भएर मन्त्रीहरु पठाउन ढिला
गर्नु भएको हो ? भन्ने पत्रकारको जिज्ञासामा देउवाले भने, ‘पार्टीमा कुनै
विवाद छैन । टुंगो लागिसकेको छ । सबै काम भोलि हुन्छ ।’
कार्यक्रममा कांग्रेस महामन्त्री शशांक
कोइरालाले वीपी कोइरालाको समाजवादी सिद्धान्तअनुसार कांग्रेसलाई अघि
बढाउनुपर्ने चुनौति रहेको बताए । उनले सबै मिलेर यो चुनौतिको सामना गर्ने
बताए । भेटघाट तथा चियापान कार्यक्रममा आइदिएको भन्दै उनले सबैलाई धन्यवाद
दिए ।
कोइराला लामो समयको उपचारपछि मंगलबार
पहिलोपटक सार्बजनिक भएका हुन् । उनले आफ्नै निवासमा आयोजना गरेको चियापान
कार्यक्रममा जिल्ला कांग्रेसका शिर्ष नेताहरु, जिल्ला सभापतिहरु र
कार्यकर्ताहरु सहभागी थिए ।
source:http://www.onlinekhabar.com
Post a Comment